झापा–१ बाट तेस्रो पटकमा ट्रायल पास गर्छु: कांग्रेस महामन्त्री शर्मा
भद्रपुर, झापा। तेस्रो पटक झापाको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने इच्छा राख्नुभएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले तेस्रो पटकको ट्रायल अवश्य पास गर्ने दाबी गर्नुभएको छ ।
झापाको वीरता मिडिया हाउस प्रालिद्वारा सञ्चालित गोर्खापोष्ट डेली डटकम अनलाइनको मङ्गलवार बिर्तामोडमा उद्घाटन गर्दै महामन्त्री शर्माले तीन पटक ट्रायल फेल हुने आफ्नो चाहना नरहेको बताउनुभयो । त्यस कारण राम्रो हिसाब–किताब गरेर मात्रै निर्वाचनमा उठ्ने उहाँको भनाइ थियो ।
पार्टीभित्र प्रवक्ता अनि त्यसपछि महामन्त्रीको जिम्मेवारी थपिँदै गर्दा निर्वाचनमा भने पटक–पटक हार्नु आफ्नो लागि राम्रो कुरा नभएको उहाँले बताउनु भयो । निर्वाचनमा उम्मेदवार बन्ने विषय आन्तरिक छलफलमै रहेको बताउँदै उहाँले त्यसबारे गठबन्धनमा पनि कुरा भइरहेको जानकारी दिनुभयो ।
अघिल्लो निर्वाचनमा जुन पार्टीले जहाँबाट जितेको थियो, त्यस ठाउँमा त्यही पार्टीका उम्मेदवारलाई यस पटक पनि टिकट दिने गठबन्धन दलबीच मापदण्ड बनेकाले आफूले टिकट पाइहाल्ने निश्चित भई नसकेको बताउँदै उनले यदि निर्वाचनमा उठ्न पाए झापा क्षेत्र नं १ बाटै आफूले उम्मेदवारी दिने घोषणा बताउनु भयो ।
२०७४ को निर्वाचनमा झापा क्षेत्र नं १ मा शर्मा बाम गठबन्धनका उम्मेदवार राम कार्कीसँग पराजित हुनुभएको थियो भने संविधानसभाको निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजित हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्