६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि विभिन्न श्रेणी समूहका गरी कुल ६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि राजपत्राङ्कित अधिकृत तहका ४सय ३१ पदहरूका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत विभिन्न श्रेणी समूहका १०५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यस्तै मन्त्रीपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत सञ्चालन हुने आयोजना तथा कार्यक्रमका लागि विभिन्न श्रेणी समूहका ३० पद, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत विभिन्न श्रेणी समूहका ५० पद र बन तथा वातावरण मन्त्रालय अन्तरगत ४७ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सञ्चार मन्त्री कार्कीले जानकारी दिनुभयो ।
सञ्चार मन्त्री कार्कीले यस्ता अस्थायी दरवन्दीहरु आयोजना तथा कार्यक्रमहरू सम्पन्न भएपछि स्वतः खारेज हुने भएकाले सरकारले नयाँ व्यक्ति भर्ना गर्नका लागि नभई स्थायी कर्मचारीहरूबाटै सो आयोजना तथा कार्यक्रमहरूमा खटाउने गरी अस्थायी दरबन्दी स्वीकृत गरेको स्पष्ट पार्नुभयो ।
मन्त्री कार्कीले सरकारले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलेरेसन परियोजनाका लागि करिब १७ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गर्नुका साथै जी टु जी प्रावधान अन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम मल खरिद गर्न बाँकी अवधिका लागि कृषि सामग्री कम्पनीलाई तोक्ने निर्णय गरेको पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, सह–सचिव उत्तर कुमार खत्री र मन्त्रालय अन्तरगत विभिन्न निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्