मङ्गलसेन नगरपालिका शैक्षिक संस्थाको अनुगमनलाई तीव्रता दिँदै
अछाम । मङ्गलसेन नगरपालिकाले शैक्षिक संस्थाको अनुगमन कार्यलाई तीव्रता दिएको छ ।
नगरको अनुगमन टोलीले नगरका १४ मध्ये ८ वटा वडाका बालविकास केन्द्र र सामुदायिक विद्यालयको अनुगमन कार्य सम्पन्न गरेको छ । समुदायमा आधारित र विद्यालयमा रहेका बालविकास केन्द्र र आधारभूत तथा माध्यमिक विद्यालयको अनुगमन टोलीले सूक्ष्म तरिकाले अवलोकन अनुगमन गरेको हो ।
अनुगमन टोलीले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक, विद्यार्थीको हाजिरी, शिक्षण सिकाई र भौतिक संरचनाको अनुगमन गरेको छ ।
१४ वटै वडामा सूक्ष्म तरिकाले हरेक क्षेत्रसँग छलफल गरि अनुगमन गरिएकाले वास्तविक तथ्याङ्कमा रहेर आगामी दिनमा छलफल गरेर नगरमा रिपोर्ट पेश गरेर अघि बढ्ने मङ्गलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बताउनु भयो ।
हालसम्म हरेक विद्यालयमा अनुगमन गर्दा भौतिक संरचना प्रत्येक विद्यालयमा पर्याप्त भएतापनि शिक्षक दरबन्दी भन्दा विद्यार्थीको सङ्ख्या आधारभूत तहमा न्यून रहेको रावलले बताउनु भयो ।
अनुगमन पश्चात् विद्यालयमा शिक्षक कोटा पुनः वितरण, विद्यालय मर्ज तथा अन्य व्यवस्थापनका कार्य समेत गरिने मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्