तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाका बन्द भएपछि कृषि पेशामा

file photo

सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौँ कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोज्नुभएको छ । 

सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गर्नुभएको हो । तातोपानी नाका बन्द भएपछि रु एक करोड ५० लाखको लगानीमा कृषि व्यवसाय सुरु गर्नुभएका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रा पालन गर्नुभएको छ ।

उहाँले गत वर्ष मात्र किवीबाट रु पाँच लाख आम्दानी गरेको बताउनुभयो ।  सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाउनुभएको छ र १० जना जतिलाई रोजगारीसमेत दिनुभएको छ ।

सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक रु २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताउनुभयो । सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोड्नुभएको छ ।

अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष रु ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरू नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् । 

तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौँमा नै व्यापार व्यवसाय गर्ने गरेका यहाँका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button