उर्लेनीका पहिरो प्रभावितको माग : स्थानान्तरणसँगै नदिले कटान गरेको खेतको संरक्षण होस

सिन्धुपाल्चोक । हेलम्बु–५ उर्लेनिका पहिरो प्रभावितले स्थानान्तरण सँगै नदिले कटान गरेका खेतको संरक्षण गरिदिन माग गरेका छन् ।
गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका वडा नम्बर ५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहेतापनि पहिरोले आकार बढाएपछि थप १० घर सहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिनुभयो । अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितहरूले कष्टपूर्ण दैनिकी बिताइरहनु परेको छ । पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्ट लगायतका सामाग्री उपलब्ध गराएको थियो ।
उर्लेनीको बिसौनी बाट साप्रे सम्म करिब ५०० मिटर लामो पहिरो खस्दा त्यहाँको नागरिकको जनजीवन कष्टकर बनेको हो । तत्कालै २१ घर मात्र उच्च जोखिममा रहेपनि सिङ्गो गाउनै पहिरोको जोखिममा रहेको तामाङले बताउनुभयो । पहिरोले बस्तिमात्र हैन तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिन समेत जोखिममा छन् । हेलम्बु गाउँपालिका वडा नम्बर ५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका वडा नम्बर ६का नदीतटिय क्षेत्रका खेतहरू धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले जानकारी दिनुभयो ।
जसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडा अध्यक्ष दीप कुमार तामाङले प्रभावितको माग र आवश्यकताको आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरण सँगै स्थायी आवास निमार्णको लागि पहल गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको मात्रै स्रोत नभ्याउने भन्दै प्रदेश र केन्द्र सरकारसँग पटक पटक आग्रह गर्दासमेत कुनै चासो नदिएको प्रति गुनासो गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पहिरोको उच्च जोखिममा रहेका स्थानहरूको पहिचान गरि आगामी दिनमा स्थानान्तरणको लागि विज्ञ सहितको टोलीलाई अध्ययन गर्न लगाउने बताउनुभयो । आगामी दिनमा गाउँपालिका बाट गर्नुपर्ने र गर्नसक्ने काम गर्न गाउँपालिका तयार रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । पहिरोको जोखिम कायममै रहेकाले आवश्यक सर्तकर्ता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्