तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्री श्रेष्ठसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुन सक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो । 

नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापित भएको ४६ बर्ष भइसकेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले दुई देश बीचको सम्बन्ध र सहकार्य अझै फराकिलो होस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । 

दुई देशबीच पर्यटन प्रवर्द्धनका निम्ति सहकार्य गर्नेबारे उहाँहरुबीच छलफल भएको थियो । 

आगामी नोभेम्बरमा कतारमा आयोजना हुने २२ औँ संस्करणको फिफा विश्व कप प्रतियोगितामा नेपालको पर्यटन प्रवर्द्धन गर्नेबारे पनि उहाँहरुबीच छलफल भयो । नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको राजदूत हैलले बताउनुभयो । 

नेपाल(कतार दुईतर्फी हवाई सेवालाई थप प्रभावकारी बनाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो । सो अवसरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो । राजदूत हैलले मन्त्री श्रेष्ठलाई कतार भ्रमणको निमन्त्रणा दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button