हुम्लाको स्याँडा गाउँमा मनाइयो चोख्या पर्व
हुम्ला । हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाइँदै आएको छ । व्याँसी समुदायले सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएका छन् ।
स्याँडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका रुपमा हरेक वर्ष झैँ यस वर्ष पनि विशेष रुपमा मनाएको सिमकोट गाउँपालिका–८ स्याँडाका अध्यक्ष कमल बुढाले बताउनुभयो ।
वडाध्यक्ष बुढाका अनुसार परम्परागत धार्मिक संस्कारअनुसार घरका कुल देवता कुतिहिल्सो देवताको पूजाआजा गरी स्याँडा गाउँभन्दा माथिको चोख्या चउरमा यो पर्व मनाइयो । स्याँडा गाउँका स्थानीयले परापूर्वदेखि नै चोख्या पर्व मनाउँदै आएको स्थानीय बताउँछन् । स्याँडामा हिल्सो देवताको मन्दिरमा पूजाआजा गरी वर्षभरिका लागि भाकलको छिनोफानो गर्ने, धार्मिक झाँक्री नचाउने, देउडा खेल खेल्न चलन छ ।
मेला हेर्नका लागि स्याँडा र आसपासका स्थानीय बासिन्दा स्याँडामा जम्मा हुने गर्छन् । घरबाट पकाएर लिएको मिष्ठान भोजन आफन्तसँग बसेर खाने दिनभर रमाइलो गरी बेलुका घर फर्किने गरेको स्थानीय नुर्बु बुढाको भनाइ छ ।
चोख्या पर्वको बेला बाहिरबाट चोख्या हेर्न आउने पाहुनालाई बोलाई बोलाइ पाहुनाको स्वागत गर्नु मुख्य विशेषता हो । चोख्यालाई परम्परागत रुपमा मनाउँदै आएका हुम्लाको सिमकोट गाउँपालिका–८ स्याँडामा चोख्या मेला धुमधामका साथ मनाइएको छ ।
देउडा पारखीले रातदिनभर देउडा खेल खेल्ने चलन पनि रहेको छ ।
रासस
प्रतिक्रिया राख्नुहोस्