तपाईँ सुन्दै हुनुहुन्छः

एमालेमा निर्वाचन परिचालन सचिवालय गठन

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो । 

सो कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमिटी गठन गरेर निर्वाचन केन्द्रित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।

परिचालन कमिटीमा पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू रहनुभएको छ ।

एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको चौथो बैठकले निर्वाचन परिचालन कमिटी गठन गर्नेलगायत पार्टीको सचिवालयले गरेको निर्णय अनुमोदन गरेको थियो । 

एमालेले अध्यक्ष ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button