तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमित २ सय हेक्टर वन क्षेत्र खाली गरियो

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ४ को विभिन्न स्थानको अतिक्रमणमा परेका वन क्षेत्र खाली गरिएको छ । 

लहँको प्यारघारा, फुलचाउली, रन्नेखाली, भातचिउरा लगायतका क्षेत्रको अतिक्रमण हटाइएको हो । 

सामुदायिक वन क्षेत्र अतिक्रमणको चमेटामा पर्न थालेपछि अतिक्रमण गरेर बनाएको जग्गा जमिन र पोथ्राहरू खाली गरिएको छ । 

झण्डै २ सय हेक्टर वन क्षेत्रको लालीगुराँस, काफल, अयार, डिमर,बाँज लगायत बोटबिरुवा र रुखमा क्षति पुगेको छ । वन क्षेत्र जोगाउने अभियानमा सबै एक जुट भएर अगाडि बढ्नु पर्ने हो तर यस्तो कार्य हुन सकेको स्थानीयको चिन्ता छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर रावलले वन अतिक्रमण रोक्न आफूले पहल गरेपनि स्थानीयबाट अटेरी भएको बताउनु भयो । नलगाड नगरपालिकाका निवर्तमान मेयर टेकबहादुर रावल र वडाध्यक्ष बद्री पन्तको रोहवरमा अतिक्रमण गर्नेलाई फेरि अतिक्रमण नगर्ने शर्तमा कागज गरेर छाडिएको छ ।

वन अतिक्रमण हटाउन रेन्जर भिम शाही, वन रक्षक जगत विक, गणेश कार्की, ईलाका प्रहरी कार्यालयका प्रमुख अर्जुन साउदसहितका वन कर्मचारी र प्रहरीका साथै २ सय स्थानीयहरूको सहभागिता थियो । जाजरकोट जिल्लामा पहिलो पटक नलगाड ४ मा सहजै अतिक्रमण हटाउने काम भएको सव डिभिजन दल्लीका प्रमुख रक्षा लामिछानेले बताउनु भयो । 

वडा अध्यक्ष बद्री पन्तले वन संरक्षण गर्ने दायित्व वडावासीको भएको बताउनुभयो । ‘तपाईँहरू संरक्षणको लागि अघि बढ्नुस् वडा सरकारले सक्दो सहयोग गर्छ,’ उहाँले भन्नुभयो । 

जथाभाबी सडक खन्दा र वन क्षेत्र अतिक्रमण हरियाली वन क्षेत्र मासिँदै गएको छ । अतिक्रमण हटेपछि वनको पनि संरक्षण हुने देखिन्छ । अतिक्रमणमा परेको वन क्षेत्र खाली गरिएपछि लहँबासी खुशी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button