तपाईँ सुन्दै हुनुहुन्छः

‘सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौँ’

वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।

file photo

पर्साको वीरगञ्ज महानगरपालिकाको हरपतगञ्जमा सडकको शिलान्यासका क्रममा उहाँले सडक विकासको मुख्य आधार स्तम्भ भएको उल्लेख गर्दै सडकको विकास भएपछि अरू कुराको स्वतः विकास हुने बताउनुभयो । सो अवसरमा वीरगञ्ज हरपतगञ्जको ड्राइपोर्ट सडक खण्डदेखि मनियारी, इटीयाही, भवानीपुर नहर रोड भएर जगरनाथपुर गण्डक नहर सडक खण्डदेखि राजमार्गसम्मको कालोपत्रे गरिने सडक र नाला निर्माण सडकको मन्त्री यादवले शिलान्यास गर्नुभएको थियो ।

लामो समयसम्मको प्रतीक्षापश्चात् सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकामा मन्त्री यादवले खुसी व्यक्त गर्दै सडक निर्माण भएपश्चात् सो क्षेत्रका किसानको उत्पादनले सहज रुपमा बजार पाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्जका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–२० का वडाध्यक्ष रामकिशोर सिंह पराग लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले सडकको निर्माण गर्न लागेको हो । करिब साँढे छ किलोमिटर लम्बाइको कालोपत्रे सडक पुस मसान्त २०८१ भित्र सम्पन्न गर्ने गरी रु २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगन्जले निर्माणको जिम्मा पाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button