पोखरामा हेलो मेयर कार्यक्रम सुरु
कास्की । पोखरा महानगरपालिकामा ‘हेलो मेयर’ कार्यक्रम सुरु भएको छ ।
जनताको गुनासो सुन्न हेलो मेयरको सुरुआत गरिएको महानगरपालिका मेयर धनराज आचार्यले जानकारी दिनुभयो । महानगरले प्रवाह गर्ने सेवासम्बन्धी कुनै गुनासो भए ११८१ मा फोन गरेर टिपाउन सकिने मेयर आचार्यले बताउनुभयो ।

बिहान साँढे ९ बजेदेखि साँझ ५ बजेसम्म टोल फ्री नम्बरमा फोन गरेर जनताले गुनासो राख्न सक्ने जानकारी उहाँले दिनुभयो । कार्यालयसँग सम्बन्धित समस्या टेलिफोनमा टिपाएपछि सम्बन्धित शाखामा लगेर समाधान गरिने मेयर आचार्यले बताउनुभयो ।
मेयरले दैनिक १ घण्टा जनतासँग भेटघाट गर्न समय छुट्टाउनुभएको छ । दैनिक दिउँसो २ देखि ३ बजेसम्म जनताको समस्या गुनासो सुन्ने मेयर आचार्यले बताउनुभयो ।
प्रमुख आचार्यले आफ्नो चुनावी घोषणापत्रमा १ महिनाभित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उल्लेख गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्