तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्त्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय गन्तव्यको विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा तथा संस्कृति पर्यटनलाई पनि विशेष प्राथमिकता दिएर पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रको विकासका लागि ‘रि ब्राण्डिङ’ गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले पर्यटन क्षेत्रले लिएको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वय गरी पर्यटन पुनरुत्थानको कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालयको आयोजना भएको यस्तो बैठकले संविधानको भावनाअनुरूप सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुग्ने बताउनुभयो । देशको पर्यटन क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर जानुपर्ने उहाँको भनाइ थियो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले सङ्घीयताको मर्म र सङ्घीय ढाँचाअनुरूप नीतिगत सुधारका साथै योजनाबद्ध कार्यक्रम अगाडि बढाएर कार्यान्वयनतर्फ मन्त्रालय अगाडि बढेको बताउनुभयो ।

बैठकमा प्रदेश नं १ का पर्यटनमन्त्री खिनु लङ्वा लिम्बू, मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, सुदूरपश्चिम प्रदेशका पर्यटनमन्त्री मानबहादुर धामीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी पर्यटन क्षेत्रको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्नुभयो । उहाँले पर्यटन क्षेत्रमा लिइरहेको शुल्कमा एकद्वार प्रणाली लागू गरे पर्यटकलाई सहजता हुने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तारानाथ अधिकारी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले पर्यटकीय गतिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सेवा प्रवाहबारे जानकारी दिनुभएको थियो ।

नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ पर्यटक भित्रिए पनि पछिल्लो दुई वर्ष कोरोनाका कारण पर्यटक आवागमनमा कमी आएको थियो । सन् २०२२ को सुरुआतदेखि जुलाई महिनासम्म कूल पर्यटक आवागमन दुई लाख ८५ हजार तीन सय ६३ रहेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button