डडेल्धुरामा ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु
डडेल्धुरा । डडेल्धुरामा आजदेखि ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु भएको छ ।
नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी डडेल्धुरामा पनि ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गरेको हो ।
पार्टीकी केन्द्रीय सदस्य तथा डडेल्धुरामा खटाइएकी केन्द्रीय प्रतिनिधि ईश्वरी न्यौपानेले अभियानको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । न्यौपानेले काँग्रेस जिते मात्रै जनताले जितेको महसुस हुने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले नेपाली काँग्रेस बलियो रुपमा प्रस्तुत हुन आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार काँग्रेसले मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै टोल–टोलसम्म पुग्ने गरी ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन गरेको हो ।
देशभर विभिन्न तीन चरणमा जनताको साथमा काँग्रेस अभियान सञ्चालन हुने छ । पहिलो चरणमा भदौ १० देखि २४ गतेसम्म जनताको घरदैलोमा पुग्ने, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलो सम्म पुगेर मुलुकको वर्तमान राजनीतिमा काँग्रेसको भूमिका र आगामी पाँच वर्षका लागि चुनावी एजेण्डाबारे जनतालाई प्रशिक्षित गर्ने गतिविधि सञ्चालन हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्