तपाईँ सुन्दै हुनुहुन्छः

सीमा सुरक्षामा खटिएका प्रहरी आफै असुरक्षित 

डडेल्धुरा । डडेल्धुरामा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी आफै असुरक्षित छन् । रातदिन सेवामा खटिरहेका प्रहरी आफै असुरक्षित भएर काम गरिरहेका हुन । डडेल्धुरामा नेपाल–भारत सीमा क्षेत्रमा ५ वटा विओपी स्थापना भएका छन् । सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाकावासीले सुरक्षाको अनुभूति गर्न पाएका छन् । 

तर, अस्तव्यस्त अवस्थामा रहेका टहरामा बसेर नागरिकको सुरक्षा मात्रै होइन सीमा क्षेत्रबाट हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागिसमेत काम गर्नुपरेको छ । नागरिकको सुरक्षामा खटिएको प्रहरी आफैँ सुरक्षित छैनन् । बर्षातको समयमा प्रहरीले झनै पीडा खेप्नुपरेको छ । 

‘जस्ताका टहरा छन् पानी परेपछि चुहिन्छ । राम्रोसँग सुत्न पाइँदैन । खाना पकाउने भान्साको जस्ता खियाले खाइसकेको छ,’ परशुराम नगरपालिका–५ स्थित परिगाउँमा रहेको विओपीका एक प्रहरीले भने, ‘खाना पकाएर खान सकिने अवस्था छैन । शौचालय जान पनि लाइन बस्नु पर्ने अवस्था रहेको छ । 

यसको मर्मत सुधारका लागि सरकारले अहिले पनि कुनै चासो देखाएको छैन । यहाँ आउने हरेक कार्यालय प्रमुखले सरकारलाई भौतिक संरचनाको अवस्थाका बारे जानकारी गराएकै हुन्छन् तर, सरकार यसको मर्मतका लागि बजेट उपलब्ध गराएको देखिँदैन । 

सुरक्षा अधिकारीको अनुगमन

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा बिहीबार परशुराम नगरपालिका–५ स्थित परिगाउँमा रहेको विओपीको निरीक्षण गरेको थियो । 

निरीक्षण पश्चात् पत्रकारसँग बोल्दै प्रजिअ जोशीले सीमा क्षेत्रमा बसेको सुरक्षा निकायको बस्ने खानेलगायतका समस्या रहेको बताए। उनले भौतिक पूर्वाधारहरू सबै ठाउँमा निर्माण नभइसकेको बताउनुभयो । 

‘हाम्रा पाँच वटा विओपी मध्ये सिमशिर्षमा मात्र प्रिफ्याबको पूर्वाधार बनेको छ । अन्य विओपीमा अस्थायी टहरा र स्थानीय तहले निर्माण गरेका टहरा छन् । उनीहरू त्यसैमा बसिरहेका छन्,’ उनले भने, ‘बस्ने, सुत्ने खाने र पकाउने लगायतका पूर्वाधार नभएकोले समस्या भइरहेको छ ।’

विओपीको निरीक्षणमा प्रजिअ जोशीसँगै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर भट्ट, सशस्त्र प्रहरी बल गुल्म नम्बर ५२ डडेल्धुराका प्रहरी नायव उपरीक्षक जनकराज उपाध्याय, राष्ट्रिय अनुसन्धान डडेल्धुराका प्रमुख  हरिशबहादुर बिष्ट र पत्रकार लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button