निहारिका सिंहलाई कानूनी लडाई लड्न प्रदेश सरकारको पाँच लाख सहयोग

जनकपुरधाम । मधेश प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले महोत्तरीकी निहारिका सिंह राजपूतलाई पाँच लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको पहलमा निहारिका सिंहलाई कानूनी लडाईमा सहयोग पुर्याउने तथा बच्चाको भरण पोषणमा सघाउने उद्देश्यले सहयोग गर्ने मन्त्रीपरिषद्को आज बैठकले निर्णय गरेको मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनु भएको छ ।
उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुत, निजका छोरा तथा पीडक भनिएका शिवराज श्रेष्ठको डिएनए परीक्षणका लागि आदेश दिइएको दुई दिनपछि मधेश प्रदेश सरकारले कानूनी लडाई लड्नका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको मन्त्री साहले जानकारी दिनुभयो ।
पीडित सिंहले आफूलाई चिसो पेय पदार्थमा नशा मिसाएर खुवाई जबरजस्ती करणी गरेका कारणले नै गर्भ रहेको र आफूले आफन्तको राय सुझावको बेवास्ता गर्दै बच्चालाई जन्म दिएको बताउँदै आएकी छिन् ।
प्रतिक्रिया राख्नुहोस्