तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिकाद्वारा आगामी कार्यदिशा बारेमा श्वेतपत्र जारी

विराटनगर । विराटनगर महानगरपालिकाले विगत पाँच वर्षमा भोगेका चुनौती समस्याको समीक्षा तथा आगामी कार्यदिशाको बारेमा श्वेतपत्र–२०७९ आज जारी गरेको छ ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै  महानगरपालिकाले पछिल्लो पाँच वर्षमा आर्थिक सामाजिक तथा विकास निर्माणमा  भएको उपलब्धिसहित सो अवस्थामा  महानगरपालिकाले भोग्नुपरेका समस्या कमी कमजोरी पक्षको तथ्यपूरक विश्लेषण गर्दै यथार्थ चित्रणसहित श्वेतपत्र जारी गरेको हो ।

बिगत पाँच वर्षमा खर्चको आकार अबलम्वन नगरी आवश्यकभन्दा बढी कर्मचारी भर्ना, महानगरपालिको मातहतमा रहेका जग्गाको उपयोगविहीन, विकास निर्माण सम्बन्धी आवश्यक उपकरणहरू बिग्रिएर प्रयोग विहीन भएको, महानगरपालिकाको लक्ष्यभन्दा राजश्व असुलीमा कमी  आएको उपभोक्ताका हितका लागि बजार अनुगमन नभएको, विकास निर्माण कार्यमा न्यून र नाम मात्रको जनसहभागिता भएको जस्ता विषयलाई श्वेतपत्रमा उल्लेख गरिएको छ  ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले १०६ पृष्ठ लामो श्वेतपत्र जारी गर्नुहुँदै श्वेतपत्रले विद्यमान चुनौतीको सामना गर्न तथा महानगरपालिकाको सर्वाङ्गीण विकासका लागि संघ तथा प्रदेश सरकार विकास साझेदारीको सहयोग समेत परिचालन गर्दै महानगरलाई समृद्धिको बाटोमा अघि बढाउन मद्दत पुग्ने बताउनुभयो । 

महानगरपालिका प्रमुख कोइरालाले बिगत पाँच वर्षमा महानगरपालिकाले भोगेका चुनौती र समस्याको समाधान गर्दै आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरपालिकामा  नयाँ जनप्रतिनिधिहरूले  जिम्मेवारी सम्हालेको  ९० दिनमा महानगरपालिकाले नाला सरसफाइ, फुटपाथ व्यवस्थापन, सरसफाइ, सडक अतिक्रमण हटाउने, सडक बेसाहाराहरुको उद्धार तथा व्यवस्थापन जस्ता उल्लेखनीय काम गरेको भन्नुहुँदै उहाँले सिगियो खोलामा दिगो तटबन्ध तथा केशलिया खोलामा कोरिडोर स्थापनाका लागि महानगरपालिकाले प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । 

लामो समयदेखि सफा हन नसकेका महानगरपालिकाका क्षेत्रमा रहेका नालाहरू सरसफाइ  भएपछि  यस वर्षको वर्षा याममा महानगरमा  डुबान समस्या नभएको उहाँको दाबी छ । 

सो अवसरमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले श्वेतपत्रले विगत पाँच वर्षमा महानगरपालिकाले भोगेको समस्यालाई वास्तविक चित्रण गरेको भन्नुहुँदै आगामी दिनमा त्यस्ता कमीकमजोरी हुन नदिने र महानगरपालिको समग्र विकासमा जोड दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button