बास उठ्ने डरमा तनहुँ हाइड्रो प्रभावित
तनहुँ । देशकै महत्त्वपूर्ण मानिएको तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित भएका स्थानीयले आफूहरूको बास उठ्ने समस्या समाधान गरिदिन सरकार गुहारेका छन् । तनहुँको भिमाद नगरपालिका वडा न ५ को वान्टनिटार, जलविरे, वान्टाङखोला, कपरादी र वादरकुनाका स्थानीयले प्रभावित क्षेत्रको जमिन आयोजनाले अधिग्रहण गरे आफूहरूको बासवास विहीन बन्ने अवस्थाको सुनुवाई गरिदिन आग्रह गरेका हुन् ।
दशकौँ देखी लालपुर्जाको आशामा बसेका अधिकांश दलित समुदायले जमिन अधिग्रहण पछिको व्यवस्थाको सुनिश्चितता गर्न माग गरेका छन् । लालपुर्जाका लागि निवेदन दिएका उनीहरू आयोजनाबाट मुआब्जा समेत नपाउने अवस्थामा पुगेपछि यहाँका करिब ६५ घर दलित परिवार समस्यामा परेका हुन् ।
सरकारको ढिलासुस्तीकै कारण लालपुर्जा नपाएका स्थानीय जमिन अधिग्रहण पश्चात् भूमिहीन बन्नुपर्ने अवस्थाका बारेमा बुधबार भिमाद नगरपालिकामा स्थानीय परामर्श मञ्चको बैठक समेत बसेको थियो । उनीहरूको समस्या समाधान गर्नका लागि जल विद्युत् आयोजना, भिमाद नगरपालिका, राष्ट्रिय भूमि आयोग तनहुँ र स्थानीय बीच अन्तरक्रिया गरि समस्या समाधानका लागि पहल गर्ने निर्णय भएको भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले जानकारी दिनुभयो ।
सुवेदीका अनुसार उक्त प्रभावित समुदायको निवेदन आयोजनाले स्वीकार गरि लालपुर्जा भएको जमिन सरह मुआब्जा दिन पहल गरिने सहमति भएको छ । मुआब्जा प्राप्त गर्न नसकेको खण्डमा भिमाद नगरपालिकाको पहलमा प्रभावितहरूलाई वैकल्पिक जमिनको व्यवस्था गरिने मेयर सुवेदीले बताउनुभयो ।
उक्त प्रभावित क्षेत्रमा केही व्यक्तिहरूले नदीजन्य पदार्थ उत्खनन् गर्न दलित समुदायका मुद्दालाई समाधान हुन नदिएको समेत पाइएको छ । प्रक्रियागत रुपमा समस्या समाधान गरि आयोजना निर्माण गर्नुपर्ने भएपनि सीमित व्यक्तिको स्वार्थका कारण समस्या समाधान हुन नसकेको स्रोतले जनाएको छ । बादरकुना लगायतका स्थानमा नदीजन्य पदार्थको दोहन गर्न केही समूह सक्रिय रहेको भिमाद नगरपालिकाले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारी, विज्ञ सदस्य श्रीराम कार्की, तनहुँ जलविद्युत आयोजनाका प्रबन्धक किरण श्रेष्ठ, भिमाद नगरपालिकाका मेयर सुवेदी, उपमेयर शारदा खनाल लगायत प्रभावित क्षेत्रका स्थानीयहरू सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्