धनुषाका १५ पालिकासँग भूमिहीनको समस्या समाधान गर्न आयोगको सम्झौता
जनकपुरधाम । राष्ट्रिय भूमि आयोगले धनुषाका १५ वटा पालिकासँग भूमिहीनको समस्या समाधानको लागि प्रक्रिया अगाडी बढाएको छ ।
भूमि आयोगले भूमिहीनको समस्या समाधानका लागि आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाँकी रहेको तीन वटा पालिकासँग पनि सम्झौताका लागि प्रक्रिया अगाडी बढाइएको आयोगका धनुषा जिल्लाका सदस्य एवं प्रवक्ता रामगोविन्द यादवले जानकारी दिनुभयो ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, मिथिला, धनुषाधाम, गणेशमान चारनाथ, क्षिरेश्वर, नगराईन, हंशपुर, मिथिला विहारी नगरपालिका र जनकनन्दनी, वटेश्वर, मुखियापट्टी, लक्ष्मीनिया, औरही तथा धनौजी गाउँपालिकाले समस्या समाधानका लागि आयोगसँग सम्झौता गरेको जानकारी आयोगका सदस्य सचिव समेत रहनुभएका नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले जानकारी दिनुभयो ।
सम्झौता गरेका पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु सहभागी भएको कार्यक्रममा भूमिहीनको समस्या समाधानका लागि आफूहरूले आयोगसँग समन्वय तथा सहकार्य गर्न तयार रहेको स्थानीय निर्वाचित प्रमुखहरुले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामनन्दन मण्डलले भूमिहीनको समस्या समाधान गर्न कठिन भएपछि यसको समाधान सदाको लागि हुन जरुरी रहेको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले वास्तविक भूमिहीनको समस्या समाधान हुनुपर्नेमा जोड दिँदै यसमा उपमहानगरपालिकाले सहयोग गर्नका लागि तयार भएको बताउनुभयो ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रले भूमिहीनको समस्या अन्तिम पटकका लागि समाधान गरेर सदाको लागि यो समस्याको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले वास्तविक भूमिहीनको समस्या समाधान गर्नका लागि आयोगले ईमान्दारी पूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय भूमि आयोग धनुषाका अध्यक्ष सुरेश कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनुभएको थियो ।
धनुषामा सम्झौता गर्नका लागि बाँकी रहेको शहिदनगर, कमला र सवैला नगरपालिकालाई पनि सम्झौताका लागि प्रयास भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्