तपाईँ सुन्दै हुनुहुन्छः

जय पृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग

काठमाडौँ । विश्व शान्तिको प्रवर्द्धनका लागि राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरिएको छ ।

सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीका वक्ताले मानवतावादका विषयमा सिंहले दिएको दर्शन महत्त्वपूर्ण भए पनि त्यसलाई जनसमक्ष बुझाउन नसक्दा उहाँको योगदान ओझेलमा परेको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सत्ता सुख छोडेर जनताको हितमा लाग्ने व्यक्तित्वका रूपमा जयपृथ्वीबहादुर सिंहलाई भावी पुस्ताले सम्झने बताउनुभयो । जङ्गबहादुर राणाका नाति र चन्द्रशमशेरका ज्वाइँ भएर पनि सिंहले जनताको हितका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत क्षेत्रमा काम गरेको ऐतिहासिक तथ्य रहेको उहाँले बताउनुभयो ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मरराज जोशीले पहिलो विश्वयुद्धको बीभत्स दृश्यबाट जयपृथ्वीबहादुर सिंहले मानवतावादी दर्शन प्रवर्तन गर्नुभएको बताउनुभयो । मानव अधिकारका दार्शनिक चिन्तन गर्ने पहिलो व्यक्तित्व पनि सिंह नै भएको उहाँको भनाइ थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले बझाङको ५५ औँ राजाको पद भाइलाई छोडेर सिंह मानवतावादी अभियानमा लाग्नुभएको बताउनुभयो । उहाँले बेलायतबाट फर्केपछि ससुरा तत्कालीन श्री ३ चन्द्रशमशेरसँगै फरक मत राखी शिक्षा लगायत सुधारमा जय पृथ्वीबहादुर लाग्नुभएको उहाँले जानकारी गराउनुभयो ।

मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले जय पृथ्वीबहादुरलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गर्ने तयारी भएको बताउनुभयो ।

विसं १९३४ मा जन्मनुभएका सिंहको १९९७ सालमा निधन भएको थियो । सरकारले उहाँलाई गत असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button