तपाईँ सुन्दै हुनुहुन्छः

कफी तथा मौरी व्यवसायबाट वार्षीक १३ लाख आम्दानी

स्याङ्जा । गल्याङ नगरपालिका–८ करादीका गणेशप्रसाद अधिकारीको बारीभरि सेताम्मे मौरीका घार छन् भने कफीका बिरुवा पनि उत्तिकै छन् । २०७३ सालमा फर्म दर्ता गरी व्यावसायिक कफी तथा मौरी उत्पादनमा लाग्नुभएका अधिकारीले मौरी स्रोत केन्द्रको रुपामा विकसित हुनुभएको छ । घरमै बुवाले गर्दै आउनुभएको मौरी व्यवसायको बाघडोर अधिकारीले सम्हाल्नुभएको हो । फर्म दर्ता भन्दा अगाडि घरमा बुवाले मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । 

अधिकारीले इच्छा लक्ष्मी एग्रो फर्म तथा जयमौरी श्री गणेश मौरी स्रोत केन्द्रबाट विभिन्न उत्पादन तथा मौरीका आवश्यक सामाग्रीहरूको बिक्री वितरण गर्दै आउनुभएको छ । गत आर्थिक वर्षमा मात्रै अधिकारीले १५० मौरीगोला सहितको घार बिक्री गर्नुभयो । 

गोलासहितको मौरीघार ८ हजारदेखि १० हजारमा बिक्री हुन्छ । अधिकारीले मौरी व्यवसाय, कफी व्यवसाय र अकबरे खुर्सानीलगायत विभिन्न उत्पादनबाट वार्शिक १३ लाखको कारोबार गर्दै आउनुभएको छ । अधिकारीले भन्नुभयो, ‘वार्षीक १३ लाखको कारोबार त मेरो आफ्नै उत्पादन हो । मैले अन्य साथीहरूबाट ल्याउने र बिक्री वितरण समेत गर्दै आइरहेको छु ती सबै मिलाउने हो भने वार्शिक १ करोडको कारोबार हुन्छ ।’ उहाँले सेरेना जातको मौरी, कफी खेती समेत गर्नुभएको छ । 

५ सय कफीका बोट रहेको अधिकारीले वार्षीक ३ क्विन्टल कफी उत्पादन गर्नुहुन्छ भने अन्य स्थानहरूबाट सङ्कलन गरेर ल्याउने र रोष्ट गरेर तथा धुलो बनाएर समेत उहाँले बिक्री वितरण गर्दै आउनुभएको छ । गत आर्थिक वर्ष मात्रै उहाँले डेढ टन कफी बिक्री गरेको बताउनुभयो । यो मात्रा उहाँले आफ्नै उत्पादन गरेको र अन्य स्थानहरूबाट ल्याइएको हो । अव उहाँले छिट्टै अन्तर्राष्ट्रिय बजारमा समेत कफी निर्यात गर्ने योजनामा हुनुहुन्छ । 

विदेशका केही देशहरूमा कफी निर्यातका लागी छलफल भएकाले छिट्टै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उहाँको लक्ष्य छ । अधिकारीले भन्नुभयो, ‘अर्ग्यानिक कफी, नेपाली कफी अन्तर्राष्ट्रिय विश्व बजारमा पु¥याउने मेरो योजना छ । कफी उत्पादन गर्ने र कफी बनाएर नै बिक्री गर्ने मेरो भविष्यको योजना हो । कफी बोटदेखि ग्राहकको ओठसम्म पुर्‍याउने मेरो लक्ष्य हो । 

क्याफे नै सञ्चालन गरी अर्ग्यानिक कफी बजारमा ल्याउने छु ।’ विगत ५ सात वर्ष अगाडि कफीको बजार नहुँदा कफीका बोटहरू नै काटेर फाल्नुपर्ने अवस्थाबाट माथि आउनुभएको अधिकारीले बजारीकरणका लागी आफैँ सक्रिय हुनुपर्ने रहेछ भने अनुभव भएपछि उहाँले अहिले यो सफलता पाउनुभएको हो ।

उहाँले उत्पादन गर्नुभएको कफी पोखरा काठमाडौँलगायत ठुला सहरमा समेत खपत हुने गरेको छ भने स्थानीय स्तरमा समेत क्याफेहरूसँग समन्वय गरी बिक्री गर्दै आउनुभएको छ । उहाँले टस बनाउनुभएको छ उक्त टसमा मौरीका सामाग्री, मौरी प्रशोधनका मेसिन, कफी प्रशोधनको मेसिन रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button