ऊर्जा मन्त्री भुसालसँग बङ्गलादेशी प्रतिनिधिमण्डलको भेटवार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।
भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालसँग जलविद्युत पर्याप्त रहेको र मित्रराष्ट्र बङ्गलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बङ्गलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचारविमर्श हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण लाइनको निर्माण र व्यापारका लागि बङ्गलादेश, भुटान, भारत र नेपाल(बिबिआइएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उहाँले बिबिआइएनलाई सक्रिय तुल्याउन बङ्गलादेशले महत्त्वपूर्ण पहल लिन सक्ने बताउनुभयो ।
रासस
प्रतिक्रिया राख्नुहोस्