तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा २६ ओटा मतदान स्थल थप गर्ने प्रस्ताव

कैलाली । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ ओटा मतदान स्थल थप गर्ने प्रस्ताव गरिएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशमा १ हजार १३५ मतदान स्थल रहेकोमा निर्वाचन आयोगको निर्देशनमा डडेल्धुरामा २१, दार्चुला र बझाङमा २/२ र कैलालीको टीकापुरमा एउटा गरी २६ ओटा मतदान स्थल थप गर्ने प्रस्ताव गरिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।

मतदान स्थल थप भएर आएपछि त्यसैको आधारमा मतदान केन्द्र पनि थप हुनेछन् । अहिले सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लामा २ हजार १०३ मतदान केन्द्र रहेका छन् ।

यसैगरी प्रदेशभर बैतडीका ५, कैलाली र दार्चुलाका २/२ गरी ९ ओटा पायक नपर्ने मतदान स्थल परिवर्तनका लागि पनि निर्वाचन आयोगमा प्रस्ताव गरिएको प्रमुख भट्टले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३७ हजार मतदाता थपिएका छन् । ३७ हजारमध्ये ११ हजार ४३० जना कैलालीमा मात्र थपिएका छन् ।

थपिएका मतदातासँगै सुदूरपश्चिम प्रदेशमा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार १५० पुगेको छ । यसमा मृत्यु भएकाहरूको सङ्ख्या घटाउन बाँकी रहेकाले यसको सही तथ्याङ्क यही भदौ १२ गतेपछि मात्र आउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button