नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बारामा खेलाडी छनोटको काम हुँदै
बारा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम भइरहेको छ । अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट कार्य सुरु भएको हो ।
बाराको सिमरा रङ्गशालामा जिल्लाभरिका फुटबल खेलाडीहरू बीच प्रतिस्पर्धा भएर आइतबार छनोटको काम सम्पन्न भएको छ भने अन्य खेलहरू कलैया, निजगढमा सञ्चालन भएका छन् । बारा जिल्ला फुटबल संघका प्रशिक्षक उमेश श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट टिम छनोटका लागि जिल्लाभरिका खेलाडीहरूलाई आह्वान गरेर अन्तिम छनोट गरिएको बताउनुभयो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलिने १८ प्रकारका खेल प्रतियोगिता मध्ये बारामा केही छिटफुट बाहेक सबै प्रकारका खेलहरूको लागि खेलाडी छनोटको काम भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । फुटबलका लागि ८० जनाबाट भित्रबाट अन्तिम २० जना छनोट गरिएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनोट भएका खेलाडीहरू बीच पहिलो चरणमा भदौ १० देखि १२ गतेसम्म जनकपुरमा आयोजना हुने प्रदेश स्तरीय प्रतियोगिता छनोट हुनुपर्ने जनाइएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोत्तोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ, खो–खो, शारीरिक सुगठन लगायत १८ प्रकार खेलहरू हुनेछन् ।
‘मधेश प्रदेशका आठ जिल्लाबीच पुनः प्रतियोगिता भएर एउटा टिम छनोट हुन्छ र त्यही छनोट भएको टिम गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्