सार्वजनिक विद्यालय सुधारको अभियान सुरु: मन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारको अभियान थालिएको बताउनुभएको छ ।
आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार अभियान सुरु भएको बताउनुभयो ।
‘१० वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘१२ हजार विद्यालयको भौतिक संरचना बनिसकेका छन् अब तीन वर्षमा भौतिक पूर्वाधारको काम सक्ने गरी अघि बढ्छौँ ।’
विद्यालयको भौतिक पूर्वाधारसँगै कानुनी सुधार र शिक्षण सिकाई प्रक्रियाको सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै विद्यालय सुधार गर्न साझा सङ्कल्प गर्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सार्वजनिक शिक्षालय सुधार गर्ने काममा महानगरपालिका लागिरहेको बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सही नेतृत्व हुँदा विद्यालयको गुणस्तरमा परिवर्तन आउने बताउनुभयो । उहाँले हिजोका गल्ती कमजोरीलाई सच्चाउँदै विद्यालयको नक्सांकन, दरबन्दी मिलान लगायतका विषयमा महानगरले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
नवनिर्मित भवन ३ करोड ५० लाख लागतमा सम्पन्न भएको हो ।
एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयमा साइन्स, म्यानेजमेन्ट, ल र सिभिल इन्जिनियरिङको पढाई हुने गरेको छ । हाल विद्यालयमा ४ हजार २ सय विद्यार्थी अध्ययनरत रहको प्र अ नातिकाजी महर्जनले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्