क्रस बोर्डर पर्यटन प्रवद्र्धनका लागि नेपाल–भारतका पर्यटन व्यवसायीबीच सम्झौता
भद्रपुर, झापा । नेपालको प्रदेश १ र भारतको पश्चिम बङ्गालको पर्यटन गन्तव्यहरूको एकैसाथ प्रचार र प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतका पर्यटन व्यवसायीबीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।
झापाको मेचीनगरमा शनिबार एक समारोहका बीच नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) प्रदेश १ र भारतको सिलिगुडीस्थित इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एशोसिएशनबीच सम्झौता भएको हो । नाटाको तर्फबाट अध्यक्ष उदयकुमार श्रेष्ठ र महासचिव नवीन खरेल तथा इष्टर्न हिमालयको तर्फबाट वरिष्ठ उपाध्यक्ष विवेक सुब्बा र महासचिव सन्दीपन घोषले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
नेपाल टुरिज्म बोर्डको सहयोगमा क्रस बोर्डर टुरिज्म इन इष्ट नेपाल कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा नाटा प्रदेश १ मा आबद्ध ३५ र इष्टर्न हिमालय ट्राभल्स एण्ड टुर एसोसिएसन सिलिगुडीमा आबद्ध ७६ जना ट्राभल्स तथा पर्यटन व्यवसायीको उपस्थिति थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश १ का र पश्चिम बगालका मुख्य मुख्य पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी आदानप्रदान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्