बुद्धशान्तिमा किसानको गाई र भैँसीका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवा
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले वडाका किसानले पालेको गाई र भैँसीका लागि निःशुल्क एआई (कृत्रिम गर्भाधान) सेवा प्रदान गर्ने भएको छ । त्यस्तै पशुपालन गर्ने किसानलाई पशुविमा गर्न अभिप्रेरित गराउने उद्देश्यले आफूले पालेका गाई र भैँसीको बिमा गर्न चाहने किसानका लागि बिमा शुल्कको आधा रकम वडाले नै बेहोर्ने भएको छ ।
वडाले पशुपालनमा किसान व्यावसायिक बन्न प्रोत्साहित हुन भन्ने उद्देश्यले किसानले पालेको गाई र भैँसीको पशु बिमा गरिने वडा बैठकमा निर्णय भएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । उनले हरेक किसानका बढीमा दुईवटा गाई र भैँसीको बिमा गर्न वडाले बिमा शुल्कको आधा रकम बेहोर्ने जानकारी दिनुभयो ।
त्यस्तै पशुलाई आवश्यक पर्ने क्याल्सियम सहुलियत दरमा उपलब्ध गराउन पनि वडाले सहजीकरण गरेको छ । अब वडा कार्यालयमा किसानले सहुलियत दरमा पशुका लागि क्याल्सियम पनि पाउने छन् । आ.व. २०८९/८० को बजेट कार्यान्वयनमा आउने बित्तिकै यी योजना सञ्चालनमा आउने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्