झापा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु
झापा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता सुरु भएको हो ।
समितिका अध्यक्ष तथा कराँते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गर्नुभयो ।
समितिका अध्यक्ष भण्डारीले कुशल खेलाडी उत्पादन गर्न छनोट प्रक्रियालाई पनि प्रतियोगितात्मक बनाइएको समारोहमा जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि वाग्लेले रङ्गशालामै भइरहेको खोखो र आर्चरी तथा बाहुनडाँगीमा भएको पुरुषतर्फको भलिबलको अवलोकन गरेका गर्नुभएको थियो ।
झण्डै ९ सय खेलाडी सहभागी हुने बताइएको जिल्ला स्तरीय यस प्रतियोगिताको पहिलो दिनको खेलबाट खोखोका महिला/पुरुष र महिला भलिबलका खेलाडीहरू छनोट भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
हक्कीका पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलो पटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ । प्रतियोगितामा २६ खेल समावेश छन् ।
प्रतिक्रिया राख्नुहोस्