२०७९ साल असोज २१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

टोली घोषणा र लिगको लोगो सार्वजनिक भदौ दोस्रो साता गरिने

अजय बम २०७९ भदौ ३ गते १७:३०

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिगको खेलाडी ड्राफ्ट, लिगमा सहभागी रहने बाँकी दुई टोलीको घोषणा र लिगको लोगो सार्वजनिक भदौको दोस्रो साता गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको ड्राफ्टसहित बाँकी टिम र लिगको आधिकारिक लोगो एकै पटक भदौ दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको हो ।

क्यानले लिगको मिति असोज ८ देखि कात्तिक ५ सम्म हुने घोषणा गरिसकेको छ । यस्तै लिगमा सहभागी हुने ६ टोलीमध्ये ४ टिम घोषणा भइसकेको छ । तर, प्रतियोगिता नजिकिँदै गर्दा क्यानले बाँकी दुई टोली, खेलाडी ड्राफ्ट र अधिकारी लोगो सार्वजनिक गर्न सकेको छैन ।

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले लिगको तयारीका कारण ढिला हुन गएको बताउनुभयो । नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ ।

ड्राफ्टका लागि खेलाडी वर्गीकरणको काम समेत अन्तिम चरणमा पुगेको नेपाल टी–ट्वान्टी लिग गर्भनिङ काउन्सिलका सदस्य समेत रहेका पाठकले जानकारी दिनुभयो ।

क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिइसकेको छ । यस्तै प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिइसकेको छ ।

सम्बन्धित