तपाईँ सुन्दै हुनुहुन्छः

‘जलवायु परिवर्तनको असर कम गर्न संयुक्त प्रयासको खाँचो’

जनकपुरधाम । जलवायु परिवर्तनका कारणले मधेश प्रदेशसहित देश भरिका खाद्यान्न उत्पादनमा नकारात्मक असर परेर मान्छेको जीविकोपार्जनमा समस्या आउन थालेको छ ।

जलवायु परिवर्तनका कारणले नै अतिवृष्टि, अनावृष्टि, भूक्षय, बाढी पहिरो तथा खानेपानी तथा सिँचाइको पानी पनि घट्न थालेकाले बिग्रेको वातावरण पुनः संरक्षणका लागि कामकाज गर्नुपर्नेमा एक कार्यक्रममा सहभागी विज्ञहरूले जोड दिनुभएको छ ।

राष्ट्रिय योजना आयोग, मधेश प्रदेशका नीति तथा योजना आयोग एवं विश्व खाद्य सङ्गठनको आयोजनामा जनकपुरधाममा सम्पन्न भएको “प्रदेश स्तरीय पुनरुत्थानशीलता तथा जीविकोपार्जन नतिजा विश्लेषणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा विज्ञहरूले जलवायु परिवर्तनको कारणले मधेश प्रदेशका जिल्लाहरू सर्वसाधारणको जीविकोपार्जनमा धेरै समस्याहरू देखा परेको बताउनुभयो ।

जलवायु परिवर्तनका कारणले मधेश प्रदेशको तापक्रम बढ्ने क्रम जारी रहेको यसले अगामी दिन निक्कै कठिन हुने मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताउनुभयो । नेपालमा शून्य भोकमरीको अवस्था ल्याउनका दीर्घकालीन कृषि रणनीतिले अख्तियार गरेको नीति कार्यान्वयनमा जोड दिनुको विकल्प नभएको उपाध्यक्ष डा झाको कथन रहेको छ ।

कार्यक्रममा नीति तथा योजना आयोगका सदस्य प्रमीला सिंहले, मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले कृषि, पशु तथा मानवका नभई नहुने पानीको संरक्षण गर्ने नीति नबनाएर दीर्घकालमा थप जीविकोपार्जनमा पर्ने नकारात्मक प्रभावबाट जोगिन कठिन हुनेछ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सह–सचिव महेश खरेल तथा वातावरण विज्ञ डा. श्रीधर थापाले जलवायु परिवर्तनबाट परेको प्रभावका विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्र मधेश प्रदेशका कृषि निर्देशनालयका निर्देशक डा. रत्न कुमार झा, पशुपंक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा. जागेश्वर यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत मनिष कुमार पाल, अन्य सहभागी वातावरण संरक्षण विद्हरूले विभिन्न राय सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button