तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ : मन्त्री कुँवर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कर्मचारी, कर्मचारीबीचको विभेदलाई हटाउनुपर्नेमा जोड दिनुभएको छ ।  

काठमाडौँमा आज आयोजित अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको चौथो राष्ट्रिय सम्मेलनमा मन्त्री कुँवरले कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाई सबै कर्मचारीहरूमा समानता हुनुपर्ने बताउनुभयो । 

अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूका तर्फबाट आफ्नो मन्त्रालयमा डेलिगेसन पुगेको बताउँदै मन्त्री कुँवरले आफ्नोतर्फबाट त्यसबारे आवश्यक पहल भइसकेको जानकारी समेत दिनुभयो ।  

“अस्थायी करार र ज्यालादारी कर्मचारीहरूका आफ्नै व्यथा छन् । सँगैको साथी काम गरेको छ, रिटायर हुँदा पेन्सन बुझेर गएको छ, उसको सामाजिक सुरक्षाको ग्यारेन्टी भएको छ, र केटाकेटीहरूको लालनपालन भएको छ, घरपरिवार सुरक्षित छन्”। मन्त्री कुँवरले भन्नुभयो, “अर्को सँगैको साथी बिसौँ बर्ष काम गरेको छ, अस्थायी छ, करारमा काम गरेको छ । तर उसले जागिरबाट फर्कँदाखेरि रित्तो हात फर्कनुपर्ने अवस्था छ । यो कर्मचारी कर्मचारीबीचको विभेदलाई हटाउनुपर्छ । ”

मन्त्री कुँवरले तीन वर्षअघि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गरेकाले त्यसमा अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरू समेटिनुपर्ने बताउनुभयो ।  

सामाजिक सुरक्षा कोषको दायरमा ल्याउनका लागि आफ्नो मन्त्रालयको पहलमा करिब ६० हजार अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूको तथ्याङ्क सङ्कलन गरी अर्थ मन्त्रालयमा फायल पठाइसकिएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई मन्त्री कुँवरले उक्त फायलबारे आवश्यक निर्देशन गरिदिन समेत आग्रह गर्नुभएको थियो । 

जवाफमा अध्यक्ष प्रचण्डले आफु दोस्रो पटक प्रधानमन्त्री हुँदा बखत अस्थायी करार तथा ज्यालादारी कर्मचारीहरूको सेवा सुविधामा हेरफेर गरेको स्मरण गराउँदै आफु जहिले पनि मदजुरहरुको पक्षमा रहेकाले करार र ज्यालादारी कर्मचारीका उचित मागबारे सरकार र सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button