मधेश विश्वविद्यालयका लागि नेशनल ट्रेडिङ लिमिटेडको भवन प्रयोग गरिँदै
वीरगञ्ज । मधेश विश्वविद्यालयको कार्यालय सञ्चालनका लागि वीरगञ्जको श्रीपुरमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको वर्षाैँदेखि खाली रहेको भवन अब प्रयोगमा आउने भएको छ ।
मधेस प्रदेश सरकारले वीरगञ्जमा मधेस विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै संघीय सरकारसँगको सहमतिमा नेशनल ट्रेडिङको खाली भवन प्रयोग गर्न लागिएको हो ।
विश्वविद्यालय सञ्चालनका लागि मधेस सरकारले उपकुलपति समेत नियुक्त गरिसकेको छ । वीरगञ्जका शिक्षाविद् डा.दिपक शाक्यलाई उपकुलपति नियुक्त गरेर विश्वविद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न जिम्मेवारीका साथ वीरगञ्जमा पठाइएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो ।
नेशनल ट्रेडिङको खाली भवनमा अहिले मर्मतको काम चलिरहेको छ । वर्षौँदेखि खाली रहेको भवन जीर्ण भएकाले त्यसलाई मर्मत र रंगरोगन गरेर मधेस विश्वविद्यालयको कार्यालय खडा गर्न धमाधम काम भइरहेको नव नियुक्त उपकुलपति डा. दिपक शाक्यले जानकारी दिनुभयो ।
मधेश विश्वविद्यालयले तत्काल नेशनल ट्रेडिङको भवन पाँच वर्षको लागि भाडामा लिएको र सो अवधिमा विश्वविद्यालयको आफ्नै भौतिक संरचना खडा गर्ने गरी काम गरिने शाक्य बताउनुभयो ।
विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० करोड बजेट छुट्टाएको छ । यो वर्ष स्थापना वर्ष भएकाले १० करोड बजेट छुट्टाइएको भए पनि आउँदा वर्षमा विश्वविद्यालयका लागि आवश्यक पर्ने बजेट छुट्टाउँदै जाने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्