तपाईँ सुन्दै हुनुहुन्छः

एप्रोच सडक निर्माणपछि ठोरी ठुटे खोलाको पुल पूर्ण सञ्चालनमा

वीरगञ्ज । वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका–२ र ३ जोड्ने ठुटे खोला पुलको पूर्वतर्फको एप्रोच सडक निर्माणपछि पुल पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

पुल बनेको ४ वर्षपछि गाउँपालिकाले एप्रोच सडक बनाएको हो । यसअघि ठुटे खोलाबाट भारतीय पक्षले प्रयोग गर्दै आएको दुई वटा कुलोमध्ये पश्चिमतर्फको एउटा कुलो पुरेर स्थानीयले डाइभर्सन बनाई पुलको प्रयोग गर्दै आएका थिए ।

हुलाकी सडक योजना कार्यालयले पुनः टेण्डर आह्वान गरेपछि मात्र एप्रोच सडक कालोपत्रेको काम हुने जनाइएको छ । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी समेतको उपस्थितिमा पालिकाको स्काभेटर प्रयोग गरी एप्रोच सडक सञ्चालनमा ल्याइएको थियो ।

सडक सञ्चालन नभएका कारण ठोरीका बासिन्दा तथा ठोरी घुम्न आउने पर्यटकहरूले सास्ती व्यहोर्दै आएका थिए । हुलाकी सडकको उक्त खण्ड निर्माणको जिम्मा पाएको कालिका बानियाँ जेभीले विवादका कारण एप्रोच सडक बनाउन सकेको थिएन । भारतीय पक्षले ठूटे खोलाबाट कुलो बनाएर सिँचाइका लागि पानी लैजाने गरेका छन् ।

कुलो पुरेर बाटो बनाउनुपर्ने भएपछि उनीहरूले पटक–पटक अवरोध गरेका थिए । गाउँपालिका अध्यक्ष श्रेष्ठले भारततर्फका स्थानीय मुखियाहरूसँग निरन्तर सम्पर्क, सहकार्य र समन्वय गरी सडक सञ्चालनमा ल्याइएको बताउनुभयो ।

बिहार धमौरा पञ्चायतका मुखिया श्याम बिहारीले आफूहरूलाई पानीसँग मात्र सरोकार रहेकाले नेपाली पक्षले पर्याप्त पानी जाने वातावरण बनाइदिएर सडक बनाउँदा कुनै आपत्ति नरहेको बताउनुभयो । पुलसम्म जाने एप्रोच सडक नबन्दा डाइभर्सनको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

घुमाउरो डाइभर्सनमा पर्ने साना काठे अस्थायी पुलमा सवारी साधन सञ्चालन गर्न समेत कठिनाइ हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button