तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा केन्द्रित हुन युवा पङ्क्तिलाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्रित हुन युवा पङ्क्तिलाई निर्देशन दिनुभएको छ । 

माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा पार्टीको पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिनुभयो ।

“चुनावी महासङ्ग्राम अगाडि छ, त्यो सङ्ग्राममा युवाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अब तपाईँहरू क्रान्तिकारीलाई विजयी गराउने र समाजवादी क्रान्तिको आधार तयार पार्नेमा केन्द्रित भएर लाग्नुपर्नेछ ।” 

राजनीतिक सङ्घर्षका क्रममा युवाले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा फौजका रुपमा खटिन पनि युवा पङ्क्तिलाई आग्रह गर्नुभयो । “युवा शान्तिपूर्ण फौजका रुपमा खटिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उहाँले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताउनुभयो । “माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

माओवादी केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न क्रियाशील रहेको जनाउँदै उहाँले जनताको विशाल समाजवादी सेना तयार गर्ने र उत्पादन वृद्धिको नयाँ अभियानमा पार्टी केन्द्रित भएको बताउनुभयो । 

“कम्युनिष्टलाई एकताबद्ध गर्ने अभियान केही कारणले असफल भएको छ, त्यो असफलताबाट हामी निरास हुनुहुँदैन”, उहाँले भन्नुभयो, “फेरि त्यसलाई सफल बनाउन अर्को ढङ्गबाट अगाडि बढाउनुपर्ने छ ।”

वामपन्थीलाई एकताबद्ध गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर समाजवादको यात्रामा अगाडि बढ्ने पार्टीको नीति रहेको उहाँको भनाइ छ । 

‘आत्मनिर्भरताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ नारामा आजदेखि सुरु भएको भेलामा भौगोलिक तथा गैर भौगोलिक जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधिको सहभागिता रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button