तपाईँ सुन्दै हुनुहुन्छः

चौताराको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माण हुने 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा पुरानो बजारस्थित १ सय १५ वर्ष पुरानो कृष्ण मन्दिरको पुनर्निर्माण हुने भएको छ ।

पुरातत्त्व विभाग काठमाडौँद्वारा  २ करोड लागतमा मन्दिर क्रमागत रुपमा निर्माण सुरु गर्न लागेको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको मन्दिर पुनर्निर्माणको ठेक्का प्रक्रिया यही भदौको दोस्रो साता हुने पुरातत्त्व विभाग, काठमाडौँले जनाएको छ ।

विभागकी इञ्जिनियर आरती पोखरेलका अनुसार सबै नक्सा र स्टिमेट तयार भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली  पुरानो डिजाइनकै हुने छ ।

ऐतिहासिक र पुरातत्त्व महत्त्व बोकेको कृष्ण मन्दिर पुनर्निर्माण हुने भएपछि यहाँका स्थानीय खुशी भएका छन् । प्यगोडा शैलीको मन्दिर भूकम्प गएको ६ वर्षपछि पुनर्निर्माण हुने खबरले खुशी लागेको स्थानीय सुरेश कसजूले बताउनु भयो ।

२०६४ सालमा बनेको कृष्ण मन्दिर निर्माण भएपछि  हरेक कृष्ण जन्माष्टमीको अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले मन्दिर ध्वस्त भएपछि सो ठाउँमा जस्ताको टहरा बनाई पूजाआजा र जात्रा लाग्दै आएको छ । यसवर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको र दुई दिन मेला लाग्ने कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

कुनै बेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट  मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र  धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ  हराउने गर्थ्यो ।

मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुति पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button