तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी। म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उहाँहरू गाउँ पसेका हुन् ।

नेपाली काँग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । नेकपा (एमाले)ले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर सङ्गठन सुदृढीकरण अभियानको तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारसमेत सिफारिस गरेको छ ।

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छवटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिका–८ राम्चेबाट वडास्तरीय कार्यकर्ता प्रशिक्षण, बैठक र भेटघाट कार्यक्रम सुरु गरेको बताउनुभयो ।

एमाले निकट अनेमसङ्घले पनि पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । कांग्रेस म्याग्दीका सचिव भरत रकालले बुधबार रघुगङ्गाको मौवाफाँट र बिहीबार मङ्गलाको बाबियाचौरमा पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण भएको जानकारी दिनुभयो । बाँकी चारवटा पालिकामा पनि कार्यकर्ता प्रशिक्षण हुने उहाँले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) म्याग्दीका संयोजक रेशम जुग्जाली (सुवीन)ले जनवर्गीय सङ्गठनको बैठक सञ्चालन भइरहेको र आगामी हप्ता जिल्ला समन्वय समितिको बैठक आयोजना गरिएको जानकारी दिनुभयो । पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणसँगै वडास्तरसम्म सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय सङ्गठन परिचालन गरिने उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष वीरबहादुर थापा क्षेत्रीले यसै हप्ता बेनीमा बसेका बैठकले प्रतिनिधिसभामा पूर्वसहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क)मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम सिफारिस गरेको जानकारी दिनुभयो ।

उम्मेदवारका आकाङ्क्षीको पहिचान, आकाङ्क्षीप्रति मतदाता तथा कार्यकर्ताको मनोभावना, जितको सम्भावनालगायतका विषयमा नेताले अध्ययन गरिरहेका छन् । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउन थालेका छन् ।

जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका विनोद केसी र क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन विजयी हुनुभएको थियो । त्यो चुनावमा एमाले र माओवादी तथा कांग्रेस र राप्रपाले तालमेल गरेका थिए ।

गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार पालिका प्रमुख, तीन वडा उपप्रमुख र १८ वडा, काँग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख, १७ वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र छ वडा जितेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button