तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताईरीको एन्फालाई जवाफी पत्र

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जवाफी पत्र पठाउनु भएको छ ।

मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाउनुभएको एन्फाका महासचिव किरण राईले जानकारी दिनुभयो ।

महासचिव राईले अलमुताइरीको पत्रमा उल्लेख भएको विषय भने खुलाउनु भएन। पत्रको अध्ययन र छलफलपछि सार्वजनिक गरिने राईले बताउनुभयो । एन्फाले गत साउन अन्तिम साता छानविन समितिले दिएको प्रतिवेदनका आधारमा जवाफ माग्दै प्रशिक्षक अलमुताइरीलाई पत्र पठाएको थियो ।

गत वैशाखमा राष्ट्रिय टोलीका १० सिनियर खेलाडीले प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए । उक्त विवादबारे छानविन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार मुख्य प्रशिक्षक समेत दोषी रहेको देखाएको छ ।

प्रतिवेदनले एसियन कप छनोटपछि कतार फुटबल सङ्घसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरेको थियो ।  

एन्फाले साउन २६ गते अलमुताईरीबारे निर्णय गर्ने जिम्मेवारी महासचिव राईलाई दिएको थियो । एन्फाको दोस्रो कार्यसमिति बैठकले कतारसँग समन्वय गरेर अलमुताईरीबारे निर्णय गर्ने जिम्मा राईलाई दिएको हो ।

छुट्टीमा रहेका अलमुताईरी हाल कतारमा रहेका छन् । आगामी असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्णमा उनी टोलीसँग हुने छैनन् । एन्फाले उनको अनुपस्थितिमा प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button