तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति कैलालीमा 

टीकापुर कैलाली । राष्ट्रियसभाको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति कैलाली पुगेको छ । 

लम्कीमा भएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयता कार्यान्वयनको पाँच वर्ष पुग्न लाग्दा यसको अध्ययन गरेर यसमा रहेका कमीकमजोरी हटाई बलियो बनाउन अध्ययन आवश्यक भएको बताउनुभएको छ ।

समितिका संयोजक खिमलाल देवकोटाले संविधानमा लेखिएका एकल र साझा अधिकार कार्यान्वयनमा समस्या रहे नरहेको र कानून निर्माणमा संघ र प्रदेशले सहयोग गरे नगरेकोबारे जानकारी माग्नुभएको थियो । 

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले संघीय शासन प्रणाली बलियो बनाउन आवश्यक रहेको सुझाव दिनुभएको छ । 

राष्ट्रियसभा सदस्य मदन कुमारी शाहले सबै प्रदेशबाट सङ्घीयताको विषयमा सुझाव लिएर त्यसको निचोड सरकारलाई बुझाउने बताउनुभयो । 

समितिले आज रानी जमरा कुलरिया सिचाई आयोजना, विद्युत् गृह, टीकापुर बृहत् पार्क, डल्फिन क्षेत्रको अवलोकन गरेर फर्किनुभएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो ।

सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरी २०७९ जेठ २० गते राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाको संयोजकत्वमा संसदीय विशेष समिति गठन भई अध्ययनका लागि चार महिनाको समय पाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button