तपाईँ सुन्दै हुनुहुन्छः

‘सबैको साथले मात्रै वीरगञ्ज व्यवस्थित बन्छ’

बीरगंज  । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सबैको साथले मात्रै वीरगञ्जलाई व्यवस्थित बनाउन सकिने बताउनुभएको छ ।

वीरगञ्ज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूलाई तनाव व्यवस्थापन तथा सदाचार सम्बन्धी सम्बन्धी ज्ञान दिने उद्देश्यले आज नगर सभागृहमा आयोजित ‘नयाँ चेतनाको उदय’ विषयक कार्यशाला गोष्ठमा नगर प्रमुख सिंहले कर्मचारीहरू आफ्नो परिवार रहेकाले कसैलाई काखा पाखा नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मेयरले आफ्नो मान्छेलाई काखी च्यापेको अन्यलाई पाखा लगाएको भन्ने खालको कुरो सुनिरहेको बताउँदै आफूबाट त्यस्तो नहुने बताउनुभयो । 

नगर प्रमुख सिंहले कुनै कर्मचारीले आफ्नो शाखामा उत्कृष्ट काम गर्छ भने उसलाई अन्य ठाउँमा पनि उत्कृष्ट काम गर्नका लागि पठाइएको हो भन्नुहुँदै त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभयो ।  

उहाँले एक ठाउँलाई मात्र राम्रो गरिराख्ने भन्दा पनि सबै शाखा सबै मातहतका कार्यालय उत्कृष्ट बने महानगरको सेवा प्रवाह झनै व्यवस्थित हुने बताउनुभयो । 

वीरगञ्ज महानगरपालिकाका सद्भावना दूत अशोक कुमार वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण सेवा संस्था नेपालका संस्थापक सदस्य समेत रहनुभएका मोटिभेसनल स्पिकर रमेश शर्मा, नविल बैङ्कका पूर्व कार्यकारी अधिकृत अनिल केशरी शाहले सहभागीहरूलाई तनाव व्यवस्थापन र सेवा प्रवाहमा नागरिक संवेदनशील प्रशासनको प्रवद्र्वनका विषयमा प्रशिक्षण दिनुभएको छ । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, उद्योगी सञ्जय खेतान, वीरगञ्ज महानगरपालिका तथा यस अन्तर्गत रहेका कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button