तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसि परियोजनाको पछिल्लो अवस्था

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज काठमाडौँमा पत्रकारहरूसँग एक अन्तर्क्रिया गरि अमेरिकी सहयोग परियोजना एम.सि.सि. कार्यान्वयनको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ । 

एमसिए नेपालले समग्र परियोजना पूर्व तयारी र कार्यान्वयन गरि दुई चरणमा रहेको र पूर्व तयारीका सबै शर्तहरु पूरा भएपछि मात्र अर्को वर्षको अगष्ट महिना देखि परियोजनाको कार्यान्वयन शुरु भई त्यसको ५ वर्षमा सम्पन्न भइसक्ने बताएको छ । 

अन्तर्क्रियामा एमसिए नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसिसि परियोजनाको पछिल्लो अवस्थाबारे प्रस्तुति दिनुहुँदै अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएको, रातामाटे सव स्टेशन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण गरि मुआब्जा वितरणको काम करिब सम्पन्न भएको, परियोजनाबाट प्रभावित स्थानीयहरूसँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइ गरिएको, प्रसारण लाइनमा परेका रुखहरू काट्न अनुमति लिने काम अघि बढाइएको बताउनु भयो । 

परियोजनाका लागि करिब २ लाख रुख काट्नु पर्ने र ८५४ ओटा टावर निर्माणका लागि जग्गा प्राप्त गर्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यकारी निर्देशक विष्टले परियोजना अन्तर्गत दाङको धानखोला देखि शिवखोला सम्म ७७ किलोमिटर सडक निर्माण हुने र मर्मत गर्नुपर्ने सडक खण्डहरूको पहिचान गर्न करिब ७ हजार किलो मिटर सडकको गुणस्तर परिक्षण गर्ने काम भइरहेको बताउनु भयो ।

कार्यक्रममा एमसिए नेपाल विकास समितिका लेखा प्रमुखले परियोजनालाई प्राप्त अनुदान रकम र हाल सम्म भएका खर्चहरूको विवरण प्रस्तुत गर्दे समितिले पालना गरेको वित्तीय अनुशासन र पारदर्शिताबारे जानकारी दिनु भयो । अन्तर्क्रियामा समितिका खरिद व्यवस्थापकले खरिद प्रक्रियामा अवलम्बन गरिएका प्रचलित मापदण्डहरू र प्रक्रियाको बारे प्रकाश पार्नु भयो ।

अन्तर्क्रियामा पत्रकारहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै कार्यकारी निर्देशक विष्टले परियोजना कार्यान्वयनको जिम्मेवारी सरकारकै रहेकोले समितिका सबै काम कारबाहीहरू पारदर्शी र प्रचलित नियम कानून, कार्यविधि र मापदण्डको परिधि भित्रै रहेर भई रहेको र हाल कहींकतै अवरोध नरहेको बताउनु भयो । 

अमेरिकी सरकारको ५० करोड डलर अनुदान र नेपाल सरकारको १३ करोड डलर गरि ६३ करोड अमेरिकी डलर लागतको सो परियोजनाले ४०० के.भि. क्षमताको ३१५ किलो मिटर प्रसारण लाइन, तीन ओटा ४०० के भि क्षमताको सव स्टेशन निर्माण गर्नुका साथै ३०५ किलो मिटर सडक मर्मत सम्भार गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button