तपाईँ सुन्दै हुनुहुन्छः

सोलुमा भाइरल सङ्क्रमण बढ्दै

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाको विभिन्न स्थानहरूमा ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका समस्या फैलिएको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । 

जिल्ला अस्पताल फाप्लुमा पछिल्लो दुई हप्तामा भाइरस सङ्क्रमणको बिरामी अत्यधिक मात्रामा बढेको जनाइएको छ । अस्पतालको ओपिडीमा आएका ७० प्रतिशत भन्दा बढी बिरामी ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, जोर्नी दुख्ने, छाती र घाँटी दुख्नेलगायतका रहेका छन् ।

उनीहरू मध्ये केहीलाई अस्पतालमा भर्ना नै गरेर उपचार गराइरहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र सल्यान, सोताङ प्राथमिक अस्पताल र महाकुलुङ प्राथमिक अस्पतालमा पनि रुघाखोकीका बिरामी बढेको अस्पताल प्रशासनले जनाएको छ ।

समुदायमा फैलिएको सङ्क्रमण विद्यार्थीमा समेत देखिएपछि जिल्लाको विभिन्न विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थी अस्वस्थ भएर उपस्थिति आधा भन्दा बढी घटेपछि यसअघि तीन दिन विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्यापक चेतबहादुर मगरले जानकारी दिनुभयो ।

त्यस्तै, सोही समस्याका कारण ज्वालामाई आधारभूत विद्यालय तामाखानी पनि दुई दिन बन्द गरिएको थियो । भाइरल प्रकृतिको सङ्क्रमण बढ्दै गएकाले मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गर्न चिकित्सकले सुझाव दिएका छन् ।

सोलुखुम्बुमा पछिल्लो समय एकैदिन २२ जनामा कोरोना भाइरसको सङ्क्रमण फेला परेको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार लिखुपिके गाउँपालिकामा १८ जना र सोलुदूधकुण्ड नगरपालिकाका चार जना गरी २२ जना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण फैलने क्रम बढ्न थालेपनि जिल्ला र स्थानीय तह स्तरमा खासै सजगताको प्रयास गरिएको पाइँदैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button