तपाईँ सुन्दै हुनुहुन्छः

डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार पुरस्कृत

भद्रपुर, झापा । झापाका पुराना पत्रकार एवम् राजनीतिक विश्लेषक देवकुमार आचार्य (डी. कौडिन्य)–स्मृतिमा प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट झापाका तीनजना पत्रकार पुरस्कृत हुनुभएको छ । 

बिर्तामोडस्थित गौरीशङ्कर स्मृति प्रतिष्ठानमा हिजो आयोजित पुरस्कार वितरण समारोहमा झापाली पत्रकार जिएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) पुरस्कृत हुनुभएको हो । २०७७ सालको पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई, २०७८ सालको पत्रकारिता पुरस्कार पाठकलाई र २०७९ सालको पत्रकारिता पुरस्कार झापालीलाई वितरण गरिएको हो । उहाँहरूलाई नगद २१ हजारसहित पुरस्कृत गरिएको हो ।

कोरोना महामारीका कारण रोकिएको पुरस्कारसमेत सेन्टरले एकै पटक तीनवटा पुरस्कार वितरण गरेको प्रेस सेन्टर नेपाल झापाका सचिव उद्धव पुरीले जानकारी दिनुभयो ।

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षता तथा  नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।

शिक्षक, पत्रकार तथा साहित्यकार आचार्यलाई २०५९ साल साउन ७ गते तत्कालीन शाही सेनाले पक्राउ गरी चारआली क्याम्पसभित्रै निर्ममतापूर्वक हत्या गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button