तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

पाल्पा । तानसेन नगरपालिकाको आँगन टुँडिखेल मैदानको स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । 

तानसेनमा खेल मैदानको एक मात्र विकल्पको रुपमा रहेको टुँडिखेलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाले जनाएको छ । 

३ करोड ८२ लाख ९४ हजार रुपैयाँको टेन्डर भएको निर्माणको काम ९० प्रतिशत सकिएको हो ।

ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाक स्थल, फुटबल मैदान र विश्रामस्थल बनिसकेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

दुई वर्ष अगाडी नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य पनि सकिने क्रममा रहेको छ । 

नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा टुँडिखेल मैदान सुधारका लागि टेन्डर आह्वान गरेको थियो । विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । 

अहिले उत्तर दक्षिण हुने गरि टुँडिखेलमा ७४ मिटर चौडाइ र १ सय ९ मिटर लम्बाइमा फुटबल मैदानका लागी बर्मुडा दुबो रोपिएको छ । दुबोलाई मेसिनले कम्तीमा पनि आठ पटक काटेपछि टुँडिखेलमा खेल खेल्नका लागि तयार हुने छ ।

फागुनदेखि खेल मैदान पूर्ण रूपमा तयार हुने नगरपालिकाले जनाएको छ । 

विगतमा हुने गरेका राष्ट्रियस्तरका फुटबल, तथा अन्य प्रतियोगिता पुनः सुचारु हुने विश्वास गरिएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button