तपाईँ सुन्दै हुनुहुन्छः

समुदायको लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीको अगुवाइमा समुदायको रु साढे एक करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको पाउद्वार–खोप्रा हुँदै खयरलेकसम्मको दुई दिनको पदयात्राको बाटोमा पदमार्ग, चौतारा, खानेपानी र थान पुन निर्माणमा सहयोगदातामार्फत रु एक करोड ६० लाख बढी खर्च भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अभियन्ता राजु पुनले बताउनुभयो । बेलायती सेनाका सेवा निवृत्त लेफ्टिनेन्टसमेत रहेका पुनको अगुवाइमा एक दशकदेखि यो क्षेत्रमा पूर्वाधार निर्माण सुरु भएको थियो ।

अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । थान पुनः निर्माणमा मात्रै रु ३९ लाख खर्च भएको छ । परम्परागत रुपमा ढुङ्गाको थानमा पूजाआजा हुँदै आए पनि २०४८ सालमा स्थानीय भेडा गोठालाले थानको स्वरूप दिएर निर्माण गरेका थिए । उक्त भारानीको थान जीर्ण बनेको कारण सहयोग जुटाएर पुनःनिर्माण गरिएको पुनले जानकारी दिनुभयो । थान निर्माणसँगै २०७० सालदेखि पदमार्ग निर्माण सुरु भएको थियो । जङ्गल र पहाडको अप्ठ्यारो बाटोमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माणसँगै पर्यटक र तीर्थयात्रीलाई थकान मेटाउनका लागि चौतारा निर्माण गरिएको छ ।

“हामीले पर्यटन पूर्वाधार बनाउन सरकारको मुख ताकेर बसेनौँ, यहाँ यस्तो समस्या छ, यो काम गर्दै छौँ भनेर आह्वान ग¥यौँ, सहयोगदाता स्वस्फुर्त रुपमा सहयोग गर्न तयार भएपछि यो काम सम्भव भएको हो”, अभियन्ता पुनले भन्नुभयो । दश वर्षको अवधिमा आधा बढी समय लेक र बुकीमै बसेर पदमार्ग निर्माण खटिएका पुनले अझै पनि अप्ठ्यारा ठाउँमा पदमार्ग र रेलिङ निर्माणसँगै तीर्थयात्री र पर्यटकको सुविधाका लागि आश्रय स्थललगायतका पूर्वाधार निर्माणको अभियान सञ्चालन भइरहेको बताउनुभयो ।

धार्मिक भावनाले पर्यटन विकास

साहसिक पदयात्राको गन्तव्य बनेको पाउद्वार–खोप्रा–खयर पदमार्गमा स्थानीयवासीले मात्रै पूर्वाधार बनाउन लगानी गरेका छैनन् । जिल्लाभित्र र जिल्ला बाहिरका व्यक्तिले समेत सहयोग गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रको विकासमा धार्मिक मूल्य र मान्यतालाई जोडेर उजागर गरेपछि मात्रै यो सम्भव भएको हो ।

पाउद्वार गाउँदेखि नै पदमार्ग र चौतारा निर्माणमा विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो आफन्तको सम्झना र परिवारका अग्रज व्यक्तिको नाममा सहयोग गरेका छन् । हरेक चौतारा निर्माण गर्ने व्यक्तिले पदमार्ग समेत बनाएका छन् । चौतारा र पदमार्गमा उनीहरूको शीलालेखसमेत राख्ने गरिएको छ ।

यस क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग गर्नेमध्ये अधिकांश खयर क्षेत्रको भ्रमण र खयरभारानीको दर्शन र पूजाआजा गर्न आएका व्यक्ति छन् । यहाँ आइसकेपछि प्रभावित बनेर स्वतस्फुर्तरुपमा पदमार्ग बनाउन सहयोग गर्ने गरेको स्थानीय मीनबहादुर तिलिजा पुनले बताउनुभयो । “पहाडको बाटो अप्ठ्यारो हुनु स्वाभाविक हो, अभियान सञ्चालन भएपछि यहाँ आउने अधिकांशले यहाँ बाटो र चौतारो बनाइदिनुस्, मेरोतर्फबाट यति सहयोग आउँछ भनेर बोल्नुहुन्छ, अझै पनि कतिपय ठाउँको काम बाँकी छ”, उहाँले भन्नुभयो ।

प्रसिद्ध धार्मिकस्थल र प्राकृतिकरुपमा मनमोहक क्षेत्र रहेको खयर भारानी जाने बाटो अप्ठ्यारो भएकाले यहाँ जानेलाई सहज होस् भनेर पदमार्ग निर्माणमा सहयोग गरेको पर्वनको जलजला गाउँपालिका–६ लोप्रेका ताराबहादुर अर्मजाले बताउनुभयो ।

“म प्रवासमा बस्छु, केही वर्ष अघि यहाँको भ्रमण गर्ने अवसर मिलेको थियो, त्यसबेला थानको पुनः निर्माणमा पनि सहयोग गरेको थिए, पछि पदमार्ग बनाउन पनि सहयोग गरेँ, धेरैले यहाँ आइसकेपछि यहाँको विकासमा सहयोग गर्ने प्रेरणा पाउँछन्”, उहाँले भन्नुभयो । पदमार्ग, चौतारा र धाराको संरक्षण र सरसफाइमा समेत सहयोगदाता आफैँ पुग्ने गरेका छन् ।

अन्नपूर्ण र बराह हिमालको काखमा अवस्थित प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । समुद्री सतहदेखि करिब चार हजार सात सय मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button