तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादन प्रक्रिया छिटो, छरितो र कम खर्चिलो बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले न्यायमा सर्वसाधारण जनताको सहज पहुँचका लागि कार्यसम्पादन प्रक्रियालाई छिटो, छरितो र कम खर्चिलो बनाउने गरी काम गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।

file photo

पाँचौँ मुलुकी संहिता दिवसका अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कानुनी राज्यको अवधारणालाई व्यवहारमा देखिने गरी काम गर्नुपर्ने दायित्व सबैको भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकी संहिता कार्यान्वयनको सुरुवात भएको आजको दिन ऐतिहासिक दिन भएको उल्लेख गर्नुहुँदै समयानुकूल यसको प्रभावकारी कार्यान्वयन गरेर जनतालाई न्यायको क्षेत्रमा परिवर्तनको अनुभूति दिने गरी काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रधानमन्त्री देउवाले न्यायाधीश, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु जरुरी रहेको उल्लेख गर्नुहुँदै यसो हुन सके मुलुकी संहितामा ल्याइएका कानुनबाट जनताले छिटो, छरितो न्याय पाउनाका साथै कानुनी शासनको अनुभूति गर्न पाउने बताउनुभयो ।

कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश दिपक कुमार कार्कीले आन्तरिक र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा मुलुकी संहिताको निर्माण गरिएको उल्लेख गर्नुहुँदै यसको कार्यान्वयनमा देखिएका जटिलतालाई सम्बोधन गर्दे अघि बढ्नुपर्ने बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले मुलुकी संहिताले कानुनी प्रणालीलाई समृद्ध बनाउने काम गरेको भए पनि समय र समाजको आवश्यकता अनुसार यसलाई सुधार गर्दै अगाडी बढ्न सकिने बताउनुभयो ।

कार्यक्रममा महान्यायधिवक्ता खम्ब बहादुर खातीले मुलुकी संहिता कार्यान्वयनको प्रभावबारे अध्ययन गरेर यसमा देखिएका कमीकमजोरी र जटिलतालाई परिमार्जन गरी अगाडी बढ्न सके बलात्कारसम्बन्धी हद म्यादको विषय, विवाहको उमेर लगायतका विषयलाई सम्बोधन गर्न सकिने बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्याय प्रणालीको विकासको दृष्टिले मुलुकको न्याय सम्पादनको क्षेत्रमा मुलुकी संहितालाई एउटा ठूलो उपलब्धीका रुपमा आफूहरूले पाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button