तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले गर्दै आएको धर्ना स्थगित 

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय परिसरमा गर्दै आएको धर्ना कार्यक्रम आजबाट स्थगित भएको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा धर्ना कार्यक्रम स्थगित भएको छ । प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी दिनु भएकाले धर्ना कार्यक्रम स्थगित गर्नका लागि आफूले आग्रह गरेको बताउनु भयो ।  

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाण सहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिनु भएकाले धर्ना कार्यक्रम स्थगित गरेको जानकारी दिनु भयो । 

प्रधानमन्त्री आफैले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनु पर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्ना सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले पत्रकारहरूलाई जानकारी दिनु भयो । 

उहाँले प्रहरी समायोजन सम्बन्धी ऐन पनि निर्माण भइसकेकाले चुनाव लगतै बन्ने सरकारले प्रहरीको समायोजन गर्नेमा आफूहरू पूर्ण रुपमा विश्वस्त भएको जानकारी दिनु भयो । 

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश प्रहरी ऐन बनाएका कारणले संघीय सरकारलाई प्रहरी समायोजन सम्बन्धी ऐन बनाउनका लागि बाध्य बनाएको बताउँदै नेपाल सरकारले प्रहरी समायोजनको सबै प्रक्रिया पुरा गरेकाले समायोजनमा चुनाव पछि ढिलाइ हुने कुनै कारण नै नभएको बताउनु भयो । 

धर्ना समापन कार्यक्रमको संयोजन मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गर्नु भएको थियो । साउन २९ गते आइतबारबाट शुरु भएको धर्ना कार्यक्रम तीन दिनमा नै सकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button