तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको होटेलमा एक जोडी मृतअवस्थामा फेला 

रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं २ फूलबारीचोकमा रहेको कारिकोट होटेलमा एक जोडी रहस्यमय तरिकाले मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार धादिङको कुमपुर –५ ठेगाना भएका अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी पुष्पा नामले बोलाइने अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्। पुरुषको शव होटलको कोठामा रहेको पङ्खामा झुण्डिएको अवस्थामा र महिलाको शव बिस्तारमा रगताम्य अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार ती महिला डेढ महिनाअघि नेपालगन्ज घरबाट दाँग जान्छु भनेर हिँडेपछि हराएको हुनसक्ने अनुमान छ ।  इप्रका बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले भन्नुभयो, ‘युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ,  थप कुरा अनुसन्धानबाट खुल्नेछ ।’  उनीहरू आइतबार राति त्यस होटेलमा बस्न आएको होटल व्यवसायीले बताएका छन् । उनीहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button