२०७९ साल असोज २१ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘आइसफल’ पदमार्ग निर्माण सुरु

रेडियो नेपाल २०७९ साउन ३१ गते ९:५८

बेनी।  म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरुआत भएको छ । विसं २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकलाई आवतजावतका लागि पदमार्ग निर्माणले तीव्रता पाएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो । 

पर्यटन विभागसँग दुई प्याकेजमा रु ७७/७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नाप जाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताउनुभयो । उहाँका अनुसार, यस वर्ष रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ । आगामी असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि पदमार्ग निर्माणको कामअघि बढेको कम्पनीले जनाएको छ ।

पदमार्गअन्तर्गत रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण सुरु भएको छ । तीन सातादेखि चिमखोलाका २४ ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । तीन सातामा ससलधाराको उकालोमा करिब तीन सय मिटर ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताउनुभयो । 

‘‘दुई मिटर पराकिलो पदमार्ग बनाएका छाँै, यस वर्ष ससलधारादेखि बेसक्याम्प हुँदै कालीबराह र दहबुकीतर्फ पदमार्ग बनाउने योजना रहेको छ, कम्पनीलाई स्थानीयस्तरबाट पदमार्ग बन्नैपर्ने स्थानको बारेमा जानकारी गराइएको छ’’, उहाँले भन्नुभयो । धौलागिरि आइसफल पदमार्गअन्तर्गत कोखेभिर र पापिधर्मी डाँडामा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस वर्ष यी दुवै भीरमा पदमार्ग निर्माण गर्न सकेमा धौलागिरि आधारशिविर पुग्ने पदमार्गमा पर्यटकको आगमन बढ्ने स्थानीयवासीको भनाइ छ ।

धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्ग र टोड्के, झिँ पाखापानी, कुइनेमङ्गले हुँदै रिखार भएर आधार शिविर पुग्ने ५१ किलोमिटर लामो धौलागिरि सेञ्चुरी पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । 

यस क्षेत्रमा कूल एक सय ७३ किलोमिटर लामो पदमार्गको डिपीआर गरिएको र सोही बमोजिम पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारसँग निरन्तर पहल गरिएको उहाँको भनाइ छ । अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ । 

सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा रुइसे डाँडादेखि धौलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन । 

म्याग्दी सदरमुकाम बेनीदेखि हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यत्ता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भइरहेपनि सूचनामुलक संकेत बोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लज निर्माण हुन सकेका छैनन् ।

धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमङ्गले, दोबालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

सम्बन्धित