तपाईँ सुन्दै हुनुहुन्छः

टानको अध्यक्षमा बाँस्तोला विजयी

काठमाडौं।पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी हुनुभएको छ ।

गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट उहाँ ६१६ मतप्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रामप्रसाद सापकोटाले २६४ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी  बाँस्तोलाको प्यानल नै विजयी भएको छ । 

निर्वाचन समितिका अनुसार टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा (बाबु) , सचिवमा होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङ दोर्शी शेर्पा विजयी हुनुभएको छ ।

महिला सदस्यमा सजना त्रिपाठी ,खुल्ला सदस्यमा सदस्यहरुमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित हुनुभएको टान निर्वाचन समितिले जनाएको छ ।

टानका नवनिर्वाचित अध्यक्ष बास्तोलाले टानलाई व्यवसायीको साझा संस्थाको रुपमा स्थापित गर्न सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचनका दौरानमा प्रस्तुत गरिएको २० बुँदे घोषणापत्र कार्यान्वयनका लागि प्राथकिताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । टानलाई समयसापेक्ष बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाएर व्यवसायीको समस्यालाई सम्बोधन गरिने उहाँको भनाइ छ । कोभिडबाट शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थानका लागि सरकार तथा निजी क्षेत्रले सहकार्य गरेर पर्यटन क्षेत्रमा सकारात्मक उत्साह जगाउने कार्यमा लाग्ने अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार ८५० व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button