तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बाजुरा।  बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोपयुक्त पालिका भएपछि जिल्ला खोप समन्वय समितिले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको छ । 

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सोमबार औपचारिक रुपमा जिल्लाका १६ महिनादेखि २३ महिनाका बालबालिकालाई सबै प्रकारका खोप लगाएपछि वडा र पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जिल्लाका सबै स्थानीय तहहरूमा ती उमेर समूहका बालबालिकाको सर्वेक्षण गरी छुटेका बालबालिकालाई पुनः खोप दिएपछि जिल्लालाई पूर्ण खोप घोषणा गरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिनुभयो ।

जिल्लामा जन्मेदेखि १५ महिनाका तीन हजार पाँच सय ६६ बालबालिका रहेको तथ्याङ्क छ भने खोप कार्ड भएका तीन हजार पाँच सय २२ बालबालिका छन् । सर्वेक्षणमा छुटेका बालबालिकालाई अगामी वैशाख महिनामा खोप लगाउने योजना रहेको उहाँले बताउनुभयो । बाजुरालाई सुदूरपश्चिम प्रदेश ९औँ र देशभरका जिल्लामा २२औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको अधिकृत चन्दको भनाइ छ ।        

खोप पाउनबाट छुटेका बालबालिकाको सर्वेक्षण गर्दा कुनै पनि प्रकारका खोप नपाएका जिल्लामा चार बालबालिका छन् । खोप घोषणा कार्यक्रममा कुनै न कुनै खोप नपाएका ११ बालबालिका रहेका छन् । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणामा १६ देखि २३ महिनाका दुई हजार दुई सय ४१ बालबालिका छन् । तीमध्ये दुई हजार एक सय ६८ बालबालिकाले खोप पाएका छन् भने ७३ बालबालिकाले खोप पाएका छैनन् । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समितिका संयोजक तुलसीराम रोकायाले खोपलाई प्रभावकारी बनाउन र बालबालिकालाई खोपबाट वञ्चित हुन नदिन सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

जिल्ला भर पुनः सर्वेक्षण गरेर खोप लगाउन छुटेका बालबालिकालाई फेरि खोप लगाउने कार्यक्रम तय गर्ने पनि उहाँको भनाइ छ । खोप पाउनबाट वञ्चित भएका बुढीगङ्गामा तीन बालबालिका र बडीमालिका नगरपालिकामा ११ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । घोषणा कार्यक्रममा प्रत्येक वर्ष खोपलाई निरन्तरता दिने र यसलाई पालिकामा गुणस्तरीय रुपमा अझै अगाडि बढाउने बडीमालिका नगरप्रमुख अमरबहादुर खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button