तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जका किसानलाई तत्काल ६ हजार बोरा मल उपलब्ध गराउने सहमति

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र कृषि सामग्री कम्पनी लिमिटेडबिच तत्काल महानगरपालिकाका किसानलाई ६ हजार बोरा युरिया मल उपलब्ध गराउने लगायतका ४ बुँदे सहमति भएको छ ।

सहमति भएसँगै वीरगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएको ४ ट्रक युरिया मल कृषि सामग्री कम्पनी लिमिटेडको जिम्मा लगाएको छ भने मल ढुवानी कार्यमा सहजीकरण गर्ने सहमति समेत भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह नेतृत्वमा वीरगञ्जका किसानहरूले धान गोड्ने बेलामा वीरगन्जकै किसानले आवश्यक मल नपाएको भन्दै आइतबार ४ ट्रक मल नियन्त्रणमा लिएका थिए ।

वीरगञ्ज महानगरपालिकाको नियन्त्रणमा राखिएको मल सहमतिपछि आजै छाडिएको छ । सहमतिमा वीरगञ्ज महानगरपालिकाका किसानहरूका लागि महानगरपालिकाले समन्वय गर्ने गरी यस अघि २ हजार ७ सय ७१ बोरा युरिया मल उपलब्ध गराइएको भए पनि यस बाहेक एक साताभित्र ६ हजार बोरा युरिया मल महानगरपालिकालाई उपलब्ध गराउने, त्यसको अलवा कलकत्ताबाट आयात हुन लागेको मलमध्ये ४ हजार बोरा युरिया मल महानगरलाई थप उपलब्ध गराउने सहमति भएको छ ।

यसैगरी सहमतिमा कृषि सामग्री कम्पनीले उपलब्ध गराउने थप युरिया मल वितरणका लागि नयाँ प्रणाली मार्फत महानगरको रोहवरमा किसानलाई उपलब्ध गराउने, सोको अनुगमन तथा नियमन वीरगञ्ज महानगरपालिकाले गर्ने सहमति भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले बताउनुभयो ।

सहमति पत्रमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रमुख चन्द्र प्रसाद चौलागाईले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button